दोस्रो विश्व युद्धको संन्तापले अक्रान्त विश्वलाई आपसी शान्ति, मैत्री र विकासको माध्यमबाट समुन्नत गर्ने अभिप्रायले स्थापित संयुक्त राष्ट्र सङ्घको बहुआयामिक पहल मध्ये विश्वमा शिक्षा, विज्ञान, संस्कृति, सामाजिक तथा मानवीय र सञ्चार क्षेत्रमा अनुसन्धान, सशक्तिकरण र विकास गर्ने उद्देश्य सहित विशिष्टिकृत संस्थाको रूपमा स्थापित युनेस्को (UNESCO-United Nations Educational, Scientific and Cultural Education)संयुक्त राष्ट्र सङ्घको एउटा विशिष्ट सङ्गठन हो । यसको स्थापना सन् १९४५ नोभेम्वर १६ मा भएको हो । शुरूमा यस सङ्गठनका सदस्य ३७ राष्ट्रहरू थिए भने हाल यसका सदस्य राष्ट्रहरू १९६ पुगेका छन् । यसको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ । क्षेत्रीय कार्यालयहरू तथा फिल्ड कार्यालयहरू विभिन्न मुलुकमा छन् । युुनेस्कोको नेपाल पनि सदस्य राष्ट्र हो । नेपाल सन् १९५३ देखि युनेस्कोको सदस्य भएको हो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले सन् १९५४ देखि युनेस्कोको निमित्त अन्तरिम आयोगको रूपमा काम गर्न थालेको थियो । यसको एउटा छुट्टै सचिवालय शिक्षा मन्त्रालय अन्तर्गत रहेको छ ।
युनेस्कोका प्रत्येक सदस्य राष्ट्रले आफ्नो देशमा राष्ट्रिय आयोग गठन गरी सोही आयोगमार्फत सरकार र युनेस्को बिच सञ्चार तथा समन्वय गर्ने गराउने, युनेस्कोबाट राष्ट्रले प्राप्त गर्ने सहयोगमा अभिवृद्धि गर्ने गराउने र युनेस्को सम्वद्ध कार्यक्रम कार्यान्वयन गर्ने गर्दछन् । नेपाल पनि उक्त सङ्गठनको सदस्य राष्ट्र भएकोले यसै सन्दर्भमा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको स्थापना भएको हो । युनेस्कोको प्रधान कार्यालयसँग समन्वय गरी कार्यलाई सहजता प्रदान गर्न पेरिसस्थित नेपाली राजदूतावासलाई युनेस्कोका निमत्त नेपाल राष्ट्रिय आयोगका स्थायी प्रतिनिधिको रूपमा कार्य गर्न तोकिएको छ । प्रत्येक २–२ वर्षमा युनेस्कोको महासभा युनेस्कोको प्रधान कार्यालय पेरिसमा सञ्चालन हुने गर्दछ ।
युनेस्कोका आदर्शहरू
- शान्ति, मैत्री तथा आपसी सद्भाव,
- सहनसिलता,
- मानव अधिकारको सम्मान,
- सहकार्य र सामुहिक प्रयास,
- सामाजिक न्याय तथा उपलब्धिको न्यायोचित वितरण,
- रचनात्मक सिर्जनसिलताद्वारा शान्ति, प्रगति तथा सम्वृद्धिको प्रवद्र्धन र संस्थागत विकास ।